काठमाडौं २५ असार । नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जीन्यूजले आपत्तिजनक कार्यक्रम प्रसारण गरेपछि अपरेटरहरुले स्वस्फुर्त रुपमा यस्तो निर्णय लिएको बताइएको छ ।
केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय भने गरेको छैन भने सरकारले पनि कुनै औपचारिक निर्णय अहिलेसम्म गरेको छैन ।
कम्पनीहरुले प्राविधिक कारण देखाउँदै यस्तो कदम चालेका हुन् ।
केबल अपरेटरहरुले बन्द गरेपनि युट्युब र एप्समा आउने च्यानलहरु बन्द गर्न भएन सरका ले आधिकारिक निर्णय नै गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आजै सरकारको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा भारतीय मिडियाले भ्रामक समाचार प्रशारण गरिरहेको बारे सोधिएको प्रश्नमा यसको राजनीतिक र कानुनी उपचार खोज्ने अवस्था आउनसक्ने बताएका छन् ।
डा.खतिवडाले भने, ‘दुर्भाव फैलाउन र चरित्र हत्या गर्ने, मर्यादालाई आँच पुर्याउने, प्रतिष्ठा घटाउने गरी गरिएका समाचारको भर्त्सना गर्छौं ।’
उनले सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफैं अनुशासनमा बसोस् र स्वस्थ र सही समाचार मात्रै सम्प्रेषण गरोस् भन्ने हुने बताए ।
भारतीय संचार माध्यमले प्रकाशित र प्रचार गरिरहेका सामग्रीबारे कूटनीतिक, राजनीतिक र कानुनी बाटो खोज्ने अवस्था आउने मन्त्री खतिवडाले बताए । उनले यो कुरामा कूटनीतिक माध्यम पनि परिचालन गर्नुपर्ने हुन्छ भन्दै अस्वस्थ र हाम्रो राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र नेपालीहरूको स्वाभिमानमा आँच पुर्याउने किसिमका समाचारहरू सम्प्रेषण नगर्न सबै मिडियाहरूलाई अनुरोध गरे ।
खरिवाेट डट.कम बाट साभार गरिएको छ ।



