काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले भारतिय फिल्मी बजार ठप्प छ । कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण बलिउडमा रिलिज हुन तयार रहेका र सुटिङ भइरहेका फिल्म रोकिएका छन् ।
लकडाउनकै कारण घरबाट बाहिर निस्कन नपाउदा सबै कलाकारहरु घरमै परिवारसँग समय बिताइरहेका छन् । त्यस्तै कति कलाकार विदेश गएका उतै थुनिएका छन् । यस्तै लकडाउनको प्रभाव बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पनि परेको छ । उनी अहिले अभिनेता सलमान खानको फार्महाउसमा छिन् । ज्याकलिन लकडाउनका कारण सलमान खानको पनवेलस्थित फार्महाउसमा फसेकी हुन् ।
लकडाउनले आफु फार्महाउसमै फस्दा ज्याकलिनले एक भारतिय मिडियासँग आफ्नो अनुभव र आफुले कसरी समय बिताएको बारे बताएकी छिन् । उनले भनिन् ‘फार्ममा मैले घोडा सवारी गरें । पौडी खेलें । आफूलाई फिट राख्नको लागि योगा गरिरहेकी छु । प्रकृतिको बीचमा यति राम्रो कहिल्यै लागेको थिएन । यो लकडाउनले मलाई ती क्रियाकलाप गर्नको लागि धेरै सहय दिन सघाएको छ जो मलाई मन पर्छ । यीमध्ये पढ्नु पनि एक हो ।’



