काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी आफूले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको पनि घिसिङले बताएका छन् । ‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।’ शनिबार एक विज्ञप्ति जारी गर्दै घिसिङले भनेका छन् ।
कोभिड—१९ संक्रमणको जोखिम भइरहेका बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राख्दै महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिन पनि घिसिङले अनुरोध गरेका छन् ।



