काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी पुसमा गर्ने प्रस्ताव गरिएको छ।
शनिबार काठमाडौंको बत्तिसपुतलीमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पुसमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन्। राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्दै अध्यक्ष दाहालले ११ देखि १३ पुससम्म राष्ट्रिय सम्मेलनको मिति तोकेका छन्।
अध्यक्ष दाहालले त्यसअघि सदस्यता वितरण तथा नविकरण लगायत अन्य सम्मेलन गर्ने प्रस्ताव गरेका छन्। जसमा भदौभित्र सदस्यता वितरण तथा नविरकणको समय तोकिएको छ।
त्यस्तै, १० असोजमा एकै दिन देशभर सेल र टोल भेला गर्ने प्रस्ताव गरिएको छ। २० असोजमा वडा सम्मेलन र ३० असोजमा गाउँपालिका र नगरपालिका सम्मेलन गर्ने योजना अघि सारिएको छ।
माओवादीको जिल्ला अधिवेशन ३० कात्तिकमा र प्रदेश अधिवेशन १५ मंसिरमा गर्ने प्रस्ताव गरिएको छ। सबै जिल्लाको अधिवेशन एकै दिन गर्ने प्रस्ताव गरिएको हो।
त्यसपछि ११ देखि १३ पुससम्म राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष दाहालले प्रस्ताव राखेका छन्। दाहालको प्रस्तावमाथि माओवादी केन्द्रीय कमिटी बैठकमा छलफल जारी रहेको छ।



