काठमाडौँ : अर्घाखाँची जिल्ला कारागारमा एकैपटक ६० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको संयुक्त टोलीले गरेको परीक्षणमा कारागारका उनीहरूमा कोरोना पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।
कारागारमा रहेका ६० जना (९३.७५ प्रतिशत) कैदीबन्दीमा कोभिड देखिएपछि स्वास्थ्यकर्मीको टोली उपचारका लागि कारागारमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए। अर्घाखाँची जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९५ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ। श्रावण १६ गते देखि जिल्लामा निषेधाज्ञा जारी छ।
कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदिबन्दी राखिएकाले समस्या निम्तिएको हो। पच्चीस जना कैदिको क्षमता रहेको कारागारमा दोब्बर बढी कैदिबन्दी कोचाकोच भएर बस्न बाध्य छन्। विसं. २०४५ सालमा निर्माण गरिएको कारागार द्वन्दकालमा क्षतीग्रस्त भएको थियो। टालटुल पारेर २०७१ सालदेखी यहाँ कैदिबन्दी राख्न सुरु गरिएको हो। बजेटको व्यवस्था भए कम्पाउन्ड मर्मत गरेर नयाँ भवनमा कैदी सार्न सकिने भएपनी त्यहाँ कसैको नजर पुग्न सकेको छैन।



