काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको सोमबारको फैसलालाई ‘अदालतमा गोरु ब्याएको’ भन्दै टिप्पणी गरेका छन्। फैसलाले देश अस्थिरतामा फस्ने खतरा भएको उनको भनाइ छ।
सर्वोच्चको आजको परमादेशपछि उनले ट्विटरमा लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिएँ– ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो।’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा।’
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ। अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ ।
सोमबार बसेको संवैधानिक इजालसले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईले करिब एक महिनाको सुनुवाइपछि सोमबार फैसला सुनाएका हुन् ।



