काठमाडौँ : सत्तारुढ नेकपा एमाले विभाजनतर्फ उन्मुख भइरहँदा नेतृत्व सचेत हुन थालेका छन् । व्यवहारिक रुपमा विभाजन एमाले कानुनी हैसियतमात्रै सग्लो रहेको छ ।
डेढ दशक लामो अन्तरसंघर्षमा निकास ननिस्केको एमाले विभाजनतर्फ उन्मुख हुँदा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालमाथि विभिन्न आरोप लाग्दै आयो । अब यस आरोपलाई चिर्दै अध्यक्ष ओलीले दशौँ महाधिवेशन आयोजक कमिटी विघटन गरी नवौँ महाधिवेशनबाट निर्वाचित र चयन भएका कमिटी र पदाधिकारी तथा सदस्यहरुलाई सक्रिय बनाउने भएका छन् ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर एमालेलाई माओवादीसँगको एकता अघि २०७५ जेठ २ मा फर्काउन अध्यक्ष ओली तयार भएका छन् । जुन माग माधवकुमार नेपाल समूहले गर्दै आएको छ ।
असन्तुष्ट माधव नेपाल समूहको मागअनुसार र सर्वाेच्च अदालतको आदेश कार्यान्वयन हुने गरी अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक आह्वान गर्न लागेका छन् ।
भोलि बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ । र उक्त बैठकले बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्ने तयारी गरिएको छ ।
केन्द्रीय कमिटी बैठकको आह्वानसँगै नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरु स्वतः पुनर्वहाली हुनेछ । यसबारे छलफल गर्न मंगलबार साँझ एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ ।
महाधिवेशन आयोजक कमिटी विघटन र नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरु सक्रिय भएपछि बोलाइने केन्द्रीय कमिटी बैठकमा नेपाल समूहका नेताहरु सहभागी हुने ओली समूहको विश्वास छ । सो बैठक माधव नेपाल बरिष्ठ नेताकै हैसियतमा सहभागी हुन सक्ने छन् ।
साथै उपाध्यक्षको हैसियतमा भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिवको हैसियतमा घनश्याम भुसाल र सचिवको हैसियतमा भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई उक्त बैठकमा सहभागी हुन सक्छन् ।
नेपाल समूहको मागअनुसार दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर बोलाइने केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपालसहितका उनको समूहको नेताहरु सहभागी नभए पार्टी फुटाउन लागिपरेको प्रमाणित हुने ओलीको आंकलन रहेको छ ।
गत फागुन २८ गते अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी खारेज गरेर आयोजक कमिटी गठन भएको थियो । सो निर्णय फिर्ता लिन नेपाल समूहले माग गर्दै आएको छ । अब आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटी सक्रिय बनाएपछि फागुुन २८ गतेको निर्णय र नेताहरुमाथि गरिएका कारबाही स्वतः निस्क्रिय हुनेछ ।
यसरी चलक हुुँदा पनि बैठक सहभागी नभए नेपाल समूह एमाले टुक्राउन खोजेको पुष्टि हुने र त्यसपछि सोहीअनुसार निर्णय गरेर अघि बढ्नुपर्नेमा संस्थापन पक्ष रहेको छ ।
पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएपछि एमालेको पदाधिकारी र स्थायी कमिटीमा ओली र नेपाल समूहको बराबरजस्तो शक्ति रहनेछ ।
यसर्थ असन्तुष्टिहरु पार्टीभित्रकै बैठकमा राखेर समाधानको उपाय अवलम्बन गरिनुपर्नेमा पार्टी एकताका पक्षधरहरुको भन्दै आएका छन् । संस्थापन पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक नेपाल समूह जालान् या नजालान्, यो हेर्न बाँकी नै छ ।
तर, यस संसदीय दलको बैठकमा नेपाल समूह सहभागी भएको थियो । बैठकमा सहभागी हुनुअघि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । यसपटक पनि प्रचण्डसँग छलफल गरेमा नेपाल समूह बैठक सहभागी नहुन सक्ने ओली समूहका नेताहरुको टिप्पणी छ ।



