८ जेठ, शनिवार । नेकपा (एमाले) बागमती प्रदेश सभाको संसदीय बोर्डले १४ प्रदेश सभा सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।
राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाएकाे छ। प्रदेश सभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय क, ख, ग, घ र ङ अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।
उनका अनुसार बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।



