७ जेष्ठ, काठमाडौँ । आफूसँग सरकार गठन गर्न आवश्यक सांसदहरूको सङ्ख्या रहेको दाबीकासाथ शीतलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँबाट फर्किसकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
उनका अनुसार ओलीले नेकपा एमालेका १२१ सांसद र जनता समाजवादी पार्टीका ३२ सांसदहरूको समर्थन आफूलाई रहेको जानकारी गराएका छन्।
”एमालेको १२१ र जसपाको संसदीय दलको नेताले … १५३ जनाको,” ओलीले जुटाएको सङ्ख्याबारे थापाले भने।
उनी काँग्रेस सभापति शेरबहादुर देउवाभन्दा अगाडि नै शीतलनिवास पुगेको बताइएको छ।
सत्तारूढ नेकपामा एमालेको माधव नेपाल – झलनाथ खनाल समूहका २६ सांसदले देउवालाई प्रधानमन्त्री प्रस्ताव गरिएको पत्रमा हस्ताक्षर गरेको बताइएको छ।
उक्त पत्रमा जसपाका १२ सांसदले हस्ताक्षर गरेको नेता जनता समाजवादी पार्टीका नेता मोहम्मद ईश्तियाक राईले बताएका छन्।
एमालेकै नेताहरूले दुईतिर हस्ताक्षर गरेसँगै अब के होला त भन्ने जिज्ञासामा थापाले भने: ”हेर्ने निकायहरूले हेर्लान् नि त।”
प्रधानमन्त्रीका अर्का सल्लाहकार विष्णु रिमालले पनि ट्वीट गरेर यसको पुष्टि गरेका छन्।
नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ।
— Bishnu Rimal (@BishnuRimal) May 21, 2021



