२ जेठ, काठमाडौं । मोरङमा पछिल्लो १३ घण्टाभित्र १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका विभिन्न अस्पतालमा उपचाररत चार महिला र आठ पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा पाँच जना वृद्धवृद्धा पनि छन्। चार जना ३५ वर्ष मुनिका छन्।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान १ बजेसम्ममा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ। नोबेलमा छोटो समयमै यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो हो।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजे मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २३ गते भर्ना गरिएको थियो। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर बन्दै गएकी वृद्धालाई उपचार जारी राखिएको भए पनि बचाउन सकिएन।
विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति साढे ११ बजे मृत्यु भएको छ। दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएका उनलाई उपचारका लागि शनिबार दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो।
उदयपुरको बेल्टारका ५६ वर्षीय पुरुषको राति करिब ११ बजे नोबेलमै मृत्यु भएको जानकारी दाहालले दिए। उनका अनुसार मृतकलाई उपचारका लागि वैशाख २६ गते ल्याइएको थियो।
विराटनगरकै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार मृत्यु हुनेमा एक वृद्धसहित दुई पुरुष र एक महिला छन्।
मोरङको बूढीगंगा गाउँपालिकामा विराट शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचारका लागि सञ्चालन गरेको कोभिड अस्पतालमा पछिल्लो समय दुई संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्ष मुनिका महिला र पुरुष रहेको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले बताए। उनका अनुसार पुरुषको आइतबार बिहान र महिलाको शनिबार राति मृत्यु भएको हो।



