काठमाडौँ : विराटनगरका विभिन्न अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित सातजनाको मृत्यु भएको छ । बुधबारसाँझदेखि बिहीबार दिउँसोसम्मको १७ घण्टाभित्रमा एक महिला र दुई पुरुषसहित सातजनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको हो ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुषको बिहीबार बिहानका राति १२ :३० बजेतिर मृत्यु भयो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि बुधबार भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास सम्बन्धी पुरानै समस्या रहेको जानकारी राजवंशीले दिए ।
उनका अनुसार कोसीमै उपचाररत मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवाको बिहान ३ बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि यहि वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गए पनि उपचार जारी रहेकै अवस्थामा संक्रमित युवाको मृत्यु भएको राजवंशीको भनाइ छ ।
त्यस्तै सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय वृद्ध पुरुषको बिहानका राति १२:२० बजेतिर मृत्यु भएको छ । कोसीमै उपचाररत उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । सूचना अधिकारी राजवंशीले अक्सिजनको मात्रा न्यून हुँदा मृतकमा श्वासप्रश्वासको समस्या देखिएको र अस्पताल भर्ना गर्दा नै अवस्था निक्कै गम्भीर रहेको जानकारी दिए ।
उनका अनुसार विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको बिहीबार बिहान ११ बजेतिर कोसीमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो । ‘भर्ना गरेदेखि नै अवस्था निक्कै गम्भीर थियो,’ राजवंशीले भने, ‘उपचार जारी राखिएको भए पनि बचाउन सकिएन ।’ उनका अनुसार अहिले कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ५० जना संक्रमितको उपचार भइरहेको छ । जसमा ४० जना पुरुष र १० जना महिला रहेको जानकारी राजवंशीले दिए ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक जना वृद्ध पुरुष छन् । पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ कोचाखालकी ३७ वर्षीया महिलाको बुधबार राति ९ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमा कोरोना सङ्क्रमणसँगै अत्याधिक रक्तश्राव भइरहने समस्या थियो । महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उपचार सफल हुन नसक्दा पाँच घण्टाभित्रै उनको मृत्यु भएको दाहालले बताए ।
पाठेघरमा भएको सङ्क्रमणका कारण महिलालाई रक्तश्रावको समस्या देखा परेको पाइएको उनको भनाइ छ । ‘रक्तश्राव धेरै भएकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको रहेछ,’ उनले भने, ‘अस्पताल ल्याइपुर्याउँदा अवस्था निक्कै गम्भीर बनिसकेको थियो ।’ दाहालका अनुसार मृतकमा रक्तश्राव र कोरोना सङ्क्रमणबाहेक स्वास्थ्य सम्बन्धी अरु कुनै पुरानो समस्या थिएन ।
त्यस्तै नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय वृद्ध पुरुषको पनि बुधबारसाँझ ६ बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वास र मुटुको समस्या देखिएपछि वृद्धलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । प्रबन्धक दाहालका अनुसार स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो ।
तर रिपोर्ट पोजिटिभ आउनूभन्दा एक घण्टाअघि नै संक्रमितको मृत्यु भइसकेको उनको भनाइ छ । ‘गम्भीर अवस्थामा उपचारका लागि वृद्ध पुरुषलाई ल्याइएको थियो,’ दाहालले भने, ‘साँझ ६ बजेतिर मृत्यु भयो । तर पीसीआर परीक्षण रिपोर्ट एक घण्टापछि ७ बजेतिर पोजिटिभ आइदियो ।’
यता विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उपचाररत उनको बुधबारसाँझ स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।
रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गर्दै उपचार थालिएका युवाको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालका डाइरेक्टर रन्जितराज बस्नेतले जानकारी दिए ।
गत वैशाख ५ गते मोरङको धनपालथान गाउँपालिका–४ मा को २७ प ६४५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकको पछाडि सवार रहेका ती युवा घाइते भएका हुन् । त्यतिबेलै उपचारका लागि न्युरो अस्पतालमा भर्ना गरिएको हो । उनको दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । यसअघि गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको थियो ।
त्यतिबेला भएको दुर्घटनामा मोटरसाइकल चालक रंगेली–२ का २३ वर्षीय भोला शर्माको मृत्यु भयो । घाइते शर्माको वैशाख ५ गते नै उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा ज्यान गएको थियो ।



