काठमाडौं ।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर नै मनाउने भएको छ ।
राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवर्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ यही साउन २८ गते विभिन्न कार्यक्रम गरी देशभर मनाउने भएको हो । यस बर्ष कोरोना भाइरस (कोभिड–१९)को कारणले वृहत कार्यक्रम नगरी भर्चुअल कार्यक्रम गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलबाट उद्घाटन गर्ने छन् ।
दिवसको अवसरमा युवा र्याली, अन्तरक्रिया, रक्तदान कार्यक्रम, नाटक, सरसफाइ, नीति सम्वाद, साँस्कृतिक कार्यक्रम, वृक्षरोपण, वक्तृत्वकला प्रतियोगिता युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रमजस्ता युवा लक्षित कार्यक्रम मनाउन थालिएको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये ४०.३ प्रतिशत युवा रहेका छन् । अहिले तय गरिएको नाराले नेपालको सामाजिक साँस्कृतिक र आर्थिक गतिविधिलगायत राष्ट्रिय अभियानमा युवाको सार्थक परिचालन गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पलाई सहयोग पुर्याउने लक्ष्य राखिएको परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए ।
नेपालमा युवा साक्षरता ७१ प्रतिशत, युवा स्वरोजगारको अवस्था ५८.८ प्रतिशत, कृषिमा संलग्न युवा ५०.५ प्रतिशत, बेरोजगार स्नातक युवा २६.१ प्रतिशत रहेका छन् भने प्रतिवर्ष पाँच लाख १५ हजार युवा श्रम बजारमा प्रवेश गर्छन् । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ ९साउन २८०लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो ।
नेपालमा भने सन् २००४ देखि युवाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम मनाउन थालिएको हो । दिवसमा अवसरमा युवाका क्षेत्रमा काम गरेका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए ।
उप- सचिव ध्रुबराज पौडेलले प्रस्तुत गरेको कार्यपत्र:
सन्दर्भ : अन्तर्राष्ट्रिय युवा दिवस 2020
International Youth Day – 2020
“Youth Engagement for Global Action”
“विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी पर्वर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता”
अन्तर्राष्ट्रिय युवा दिवस के हो ?
- अन्तर्राष्ट्रिय युवा दिवस युवाहरुको विशेष पर्व हो । यस दिवसमा विश्वका सबै देशहरुलाई युवाका मुद्दा र सरोकारका विषयलाई सम्बोधन गर्न र आफ्ना सबै प्रयासहरु यसतर्फ केन्द्रित गर्नका लागि बहस पैरवी र ध्यानाकर्षण गराइन्छ । यस पर्वमा युवाहररुको प्रतिभा प्रस्फुटन र प्रोत्साहन गरिनुका साथै युवाहरुले स्वयमसेवकीय रुपमा समाज र राज्यलाई योगदन पुर्याउने अभियान पनि सञ्चालन गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका सबै देशले प्रत्येक वर्ष अगष्ट १२ तारिखमा विभिन्न युवालक्षित रचनात्मक कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँछन् । यस दिवस युवाहरुका विभिन्न सिर्जनात्मक गतिविधिहरु¸ स्वयमसेवकीय अभियानहरु युवाका संभावना¸ अवसर¸ सफलताका कथाहरु शेयर गर्ने र प्रतिभाशाली युवाहरुलाई Exosure दिने प्लेटफर्म पनि हो ।
- नेपाली युवाको वर्तमान अवस्था”
- नेपालमा युवाको जनसंख्या 1¸06¸89¸842 (40.35 प्रतिशत) रहेको छ (राष्ट्रिय जनगणना २०६८ बमोजिम)
- वार्षिक रुपमा ३¸२३¸००० जना यावहरु बैदेशिक रोजगारीका लागि विदेशिन्छन् । बैदेशिक रोजगारमा जानेमध्ये ७४ प्रतिशत अदक्ष¸ २४ प्रतिशत अर्धदक्ष र २ प्रतिशत मात्र दक्ष रहेका छन् ।
- देशको राष्ट्रिय अर्थतन्त्रको करीब २९ प्रतिशत हिस्सा रेमिटेन्सबाट धानिएको अवस्था छ ।
- युवा साक्षरता ७१ प्रतिशत रहेको
- युवा स्वरोजगारको अवस्था ५८.८ प्रतिशत रहेको
- कृषिमा संलग्न युवा 50.5 प्रतिशत
- बेरोजगार स्नातक युवा 26.1 प्रतिशत
- प्रतिवर्ष ५ लाख १५ हजार युवा श्रम बजारमा युवा प्रवेश गर्छन् ।
स्रोत: युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना
- युवा विकासका लागि नेपाल सरकारका प्रयासहरु
- नेपालको संविधानमा युवा विकास र सहभागिताको सुनिश्चितता गरिएको
- नेपालका प्रत्येक आवधिक योजनामा युवालाई सम्बोधन गरिएको
- वार्षिक नीति¸ कार्यक्रम र बजेटमा युवालाई सम्बोधन गर्ने गरिएको
- युवा विकासका लागि नीतिगत दस्ताबेज राष्ट्रिय युवा नीति २०७२ र युथभिजन 2025 तथा दशवर्षे रणनीतिक योजना जारी गरी कार्यान्वयनमा ल्याइएको
- वि.सं. २०६५ सालमा अलग्गै युवा तथा खेलकुद मन्त्रालयको स्थापना गरिएको ।
- युवा विकासका लागि वि.सं. २०७२ सालमा स्वायत्त सरकारी निकायको रुपमा राष्ट्रिय युवा परिषदको स्थापना गरी युवालक्षित कार्यक्रम कार्यान्वयन गरिएको ।
- प्रदेश र स्थानीय तहमा युवा विकासका संचरना स्थापित / हाल संघीय ढाँचामा पुनसंगठित हुने अवस्थामा रहेको ।
- वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा युवालक्षित कार्यक्रमहरुको घोषणा गरिएको ।
- आवधिक निर्वाचनमा स्थानीय¸ प्रदेश र संघीय संसदमा युवाहरु ठूलो संख्यामा निर्वाचित भएको अवस्था (स्थानीय तहमामा 39.64 प्रतिशत¸ प्रदेश तहमा 23 प्रतिशत र संघीय तहमा 13 प्रतिशत युवा निर्वाचित) यसबाट राज्यका नीति निर्माण तहमा युवाको पहुँच र सहभागिता उल्लेख्य रुपमा बढेको ।
- हालसालै घोषित आ.व. २०७७/७८ को वार्षिक बजेटमा संघीय र प्रदेश सरकारबाट रु. 76 अर्ब भन्दा बढी बजेट बराबरका युवालक्षित कार्यक्रमको घोषणा गरिएको । त्यसैगरी स्थानीय सरकारहरुबाट समेत युवाको व्यवसायिक सीप विकास र स्वरोजगारका विभिन्न कार्यक्रमहरु घोषणा भएका छन् ।
- पछिल्लो अवस्थामा बाध्यताबस विदेशिने युवाको संख्या क्रमश: घट्दै गइरहेको अवस्था छ । नेपाल सरकारका विभिन्न युवालक्षित कार्यक्रमहरुका कारण युवाहरुमा स्वदेशमा नै संभावना र अवसर देखी स्वरोजगार तर्फ लाग्ने वातावरण क्रमश: बन्दै गएको छ ।
- युवा विकासका क्षेत्रमा नेपालले चालेका कदमहरुका कारण Global youth development index and report 2016 बमोजिम विश्व युवा विकास सूचकाङ्कमा नेपालको स्तरवृद्धि भएको छ । सन् 2010 मा नेपाल विश्व युवा विकास सुचकाङ्कमा विश्वमा 145 औं स्थानमा रहेकोमा 6 वर्ष पछि सन् २०१६ मा 68 देशलाई उछिनेर 77 औं स्थानमा आउन सफल भएको छ । यो समस्त नेपाली युवाका लागि निकै सुखद विषय पनि हो । हामीले गर्नुपर्ने काम धेरै बाँकी नै छन् तर हाम्रो गन्तव्य सही छ भन्ने कुरा यो कुराले पनि पुष्टि गर्दछ ।
- अन्तर्राष्ट्रिय युवा दिवस र यसको इतिहास
- युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने निर्णय गर्यो ।
- यो घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरी सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रमहरू हुँदै आएका छन् ।
- अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरुको सहकार्यमा युवा र्याली,¸ अन्तरक्रिया, रक्तदान कार्यक्रम, नाटक, सरसफाइ, नीति सम्वाद, साँस्कृतिक कार्यक्रम, वृक्षरोपण, वक्तृत्वकला प्रतियोगिता¸ युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम जस्ता युवालक्षित कार्यक्रमहरू हुँदै आएका छन् ।
- अन्तर्राष्ट्रिय युवा दिवसको उद्देश्य
- अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मूल उद्देश्य युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्नु हो । सबैको ध्यान युवा विकास तर्फ आकर्षित गर्नु हो ।
- यसका साथै नेपालको संविधानमा उल्लेखित युवा संग सम्बन्धित व्यवस्थालाई युवाको पक्षमा कार्यान्वयन गर्नु¸ राष्ट्रिय युवा नीति २०७२, युथ भिजन २०२५ र राष्ट्रिय युवा परिषद् ऐन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र युवालक्षित मुद्दाहरू कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज बुलन्द गर्नु पनि हो ।
- साथै नेपालको प्राथमिकता प्राप्त क्षेत्रमा युवाको सहभागिता र युवालक्षित कार्यक्रमको माध्यमबाट व्यापक युवा परिचालन गर्ने अनुकुल वातावरण सिर्जना गर्नु पनि हो ।
- नेपालमा युवा दिवसको शुरुवात
- विश्वका विभिन्न मुलुकमा सन् २००० देखि युवा दिवस मनाउन थालिएको भए पनि नेपालमा सन् २००४ देखि मात्र यसको शुरुआत भएको हो ।
- केही वर्ष अघिसम्म युवाका सवाल शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको एउटा शाखामा सीमित थियो भने अहिले आएर युवा नीति २०७२ र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना तयार भै सोको प्रभवकारी कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद् लगायतका संरचनाहरू स्थापना भई क्रियाशील रहेका छन् ।
- त्यसैले पनि अहिले युवा दिवसलाई युवा क्षेत्रमा व्यापक संरचनात्मक उपलब्धि भएको वर्षको रूपमा पनि मनाउन सकिन्छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले संयोजन गर्दै आएका युवा विकासका कार्यक्रमहरू राष्ट्रिय युवा परिषद् स्थापनासँगै युवा परिषद् मार्फत् हुने हुँदा सोही बमोजिम परिषद्कै समन्वयमा कार्यक्रमहरूको योजना तर्जुमा तथा कार्यान्वयन गरिदै आइएको छ । हाल समस्त नेपाली युवाहरुको पहिलो संपर्क विन्दु कार्यालय र अभिभावकीय निकायको रुपमा राष्ट्रिय युवा परिषद स्थापित भएको छ ।
- अन्तराष्ट्रिय युवा दिवस २०२० को सन्दर्भ
- अन्तराष्ट्रिय युवा दिवस २०२० का सन्दर्भमा संयुक्त राष्ट्र संघले यस वर्षको नारा “Youth Engagement for Global Action” तय गरेको छ । यसलाई नेपालको सन्दर्भमा “विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी पर्वर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता ” भनी परिभाषित गरेको छ । यो नारा अन्तर्राष्ट्रिय रुपमा मात्र हैन नेपालको सन्दर्भमा पनि अत्यन्त सान्दर्भिक र महत्वपूर्ण रहेको छ . यसले युथभिजन २०२५ र दिगो विकासको लक्ष्यलाई पनि सम्बोधन गरेको छ । यस नारालाई नेपालको सामाजिक साँस्कृतिक र आर्थिक गतिविधि लगायत राष्ट्रिय अभियानहरुमा युवाको सार्थक परिचालन गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पलाई सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
- युवा दिवसको नाराको सार्थकता
- युवा भनेको सबैभन्दा उर्जाशील र गतिशिल उमेर समूह हो । युवाको सार्थक परिचालन बिना कुनै पनि अभियान सफल हुन सक्दैन । अत: कुनै पनि देशको सामाजिक साँस्कृतिक तथा आर्थिक गतिविधि र समृद्धिका लागि युवाको सहभागिता र नेतृत्व अपरिहार्य छ । कुनैपनि आर्थिक गतिविधि सञ्चालन गरी रोजगारी प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि युवाको व्यापक परिचालन जरुरी छ । यसर्थ हरेक अभियानहरुमा युवाको सार्थक सहभागिता र परिचालनलाई यस दिवसले जोड दिएको छ । यो दिवसको नारा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि निकै सार्थक रहेको पाइन्छ ।
- यस वर्ष पनि नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा माननीय युवा तथा खेलकुद मन्त्रीज्युको अध्यक्षतामा बसेको बैठकले २०१ सदस्सीय मूल समारोह समिति गठन गरेको छ ।
- यस दिवसलाई केन्द्रमा मनाउने सन्दर्भमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षज्युको संयोजकत्वमा ९ सदस्यीय सचिवालयको समेत गठन गरेको छ । सचिवालयले यहि २०७७ श्रावण २८ गते तदनुसार 12 August, 2020 का दिन सम्माननीय प्रधान्त्रीज्यूको प्रमुख आतिथ्यतामा यस दिवसको मूल समारोह आयोजना गरिएको छ । हालको कोरोना महामारीको संक्रमणको जोखिमका कारण यस समारोह भर्चुअल पद्धतिबाट Zoom Webinar मार्फत् सञ्चालन गर्ने निर्णय गरेको छ ।
- यस दिवसको अवसरमा सप्ताहव्यापी रुपमा राष्ट्रिय युवा परिषदको संयोजन र युवा सम्बद्ध सामाजिक संघसंस्थाहरुको सहकार्यमा विभिन्न युवालक्षित रचनात्मक क्रियाकलापहरु पनि गर्ने तयारी भैरहेको छ ।
- मूल समारोहको प्रमुख अतिथिको रुपमा सम्माननीय प्रधानमन्त्रीज्यूले युवाहरुलाई सम्बोधन गर्नुहुनेछ । साथै संयुक्त राष्ट्रसंघको प्रतिनिधि र दक्षिण एशियाली मूलुकहरुका केही युवा नेतृत्वले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
- युवा दिवसका सन्दर्भमा अन्य रचनात्मक कार्यक्रमहरु
- यसै सन्दर्भमा मूल समारोह समितिको समन्वय र संयोजनमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वृहत रक्तदान कार्यक्रम¸ वृक्षरोपण कार्यक्रम¸ युवाहरु बीच भिजन प्रतियोगिता¸ निबन्ध प्रतियोगिता¸ असहाय र सहयोगापेक्षीहरुलाई भोजन सेवा¸ सरसफाइ कार्यक्रम तथा युवा दिवसको नारामा केन्द्रित रहेर युवा संवाद पनि आयोजना गरिएको छ । साथै मूल समारोहको अवसरमा राष्ट्रिय कलाकारहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछ ।
- कार्यक्रमको नाम¸ सञ्चालन हुने मिति र स्थान यसप्रकार छ :
- निबन्ध लेखन प्रतियोगिता : शीर्षक – युवा दिवसको नारा – २०७७ साउन २३ गते विहान १० बजे SOS सभाहलमा सानोठिमी भक्तपुर / भर्चुअल विधिबाट
- वृहत रक्तदान कार्यक्रम : साउन २४ गते काठमाडौं महानगरपालिका ७ चाबहिल चोक र वडा नं १४ माइ मन्दिर परिसर काठमाडौं ।
- वृक्षरोपण कार्यक्रम : साउन २४ गते विहान ८ बजे शनिवार – सूर्यविनायक नपा वडा नं ५
- भिजन प्रतियोगिता : शिर्षक – युवा दिवसको नारा – साउन २५ गते आइतवार विहान १० बजे – SOS बालग्राम सानोठिमी भक्तपुरको सभाहलमा
- भोजन सेवा कार्यक्रम : साउन २६ गते सोमबार विहान ९:३० बजे – मानव कल्याण समाज सेवा घर चाँगुनारायण नपा भक्तपुर ।
- कोभिड १९ लक्षीत स्वयमसेवकलाई अभिमुखीकरण : साउन २५ देखि २७ गतेसम्म विहान १० बजेदेखि – युनाइटेड मेडिकल सोसाइटी नेपाल र प्लान नेपालको सहयोगमा (भर्चुअल माध्यमबाट)
- युवा संवाद कार्यक्रम : साउन २८ गते बुधबार दिउँसो १:३० बजे – राष्ट्रिय युवा परिषदको सभाहल सानोठिमी भक्तपुर
- नेपाल टेलिभिजन मार्फत युवाका लागि सन्देश : साउन २७ गते मंगलबार बेलुका ८ बजेको समाचार पछि – सम्माननीय प्रधानमन्त्री¸ माननीय युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षज्यूबाट शुभकामना सन्देश प्रशारण
- यो दिवसमा युवाहरु कसरी जोडिने त ?
- यदि कुनै १६ देखि २४ वर्ष सम्म उमेर समूहका युवा निबन्ध लेखन र भिजन प्रतियोगितामा सहभागी हुन चाहनुहुन्छ भने राष्ट्रिय युवा परिषदको वेवसाइट nyc.gov.np वा अफिसियल फेसबुक पेज National Youth Council Nepal मा दिइएको लिङ्क मा गई त्यहाँ राखिएको गुगल फाराम भरेर आफ्नो नाम रजिष्ट्रेशन गरी सहभागी हुन सक्नुहुनेछ ।
- त्यसैगरी मूल समारोहमा सहभागी हुन चाहनुहुन्छ भने सोहि साइटमा राखिएको गुगल फाराममा रजिष्ट्रेशन गरी सहभागी बन्न सक्नुहुनेछ । Zoom webinar को कार्यक्रम २०७७ श्रावण २८ गते विहान ११:०० बजेबाट ३:०० बजेसम्म सञ्चालन हुनेछ । साथै रक्तदान¸ वृक्षरोपण¸ भोजन सेवा तथा सरसफाइ कार्यक्रममा इच्छुक व्यक्तिहरु खुला रुपमा सहभागी हुन सक्नुहुनेछ । सोको कार्यतालिका परिषदको अफिसियल पेज National Youth Council Nepal मा राखिएको छ ।मूल समारोहको कार्यक्रमको प्रत्यक्ष प्रशारण परिषदको अफिसियल फेसबुक पेज तथा धर्मुस सुन्तली फाउण्डेशनको पेजबाट समेत प्रत्यक्ष प्रशारण हुनेछ ।
- संघीय तहको दिवसको अतिरिक्त प्रदेश तथा स्थानीय तहहरुमा पनि आआफ्नै हिसाबले तत तत क्षेत्रमा क्रियाशिल युवा तथा युवा विकासका क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइदैछ । अत: युवाको यस अन्तर्राष्ट्रिय पर्वको अवसरमा यी विभिन्न कार्यक्रमहरुमा सबै युवाहरु सहभागी बनौं र आफ्ना सहपाठी तथा साथीहरुलाई पनि सहभागी हुन प्रेरित गरौं । युवा दिवसलाई सभ्य र भव्य रुपमा युवाको व्यापक सहभागिताका साथ हर्ष उल्लासपूर्वक मनाऔं । थप संपर्कका लागि ठेगाना:
कार्यालय : राष्ट्रिय युवा परिषद, सानोठिमी भक्तपुर
फोन नं : 016638152, 6635133, 6635835
वेवसाइट : www.nyc.gov.np
इमेल : [email protected]
अफिसियल फेसबुक पेज : National Youth Council Nepal
राष्ट्रिय युवा परिषद नेपाल
नोटिशबोर्ड सेवा : 1618016635835
प्रस्तुतकर्ता :
– ध्रुवराज पौडेल
उपसचिव/सूचना अधिकारी
राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुर ।



