काठमाडौँ : पहिलोपटक भारतमा भेटिएको डेल्टा भेरिएन्टको अझ घातक नयाँ रूप देखापर्ने र त्यसले आतंक मच्चाउन सक्ने आंकलन गरिएको छ।
भारतमा तीव्र संक्रमण गरिरहेको डेल्टा नेपालमा पनि फैलिरहेको छ। जुन छिटो फैलिनाका साथै जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्न सक्षम रहेको विज्ञले बताएका छन्।
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ तथा अमेरिकी सरकारका कोभिड सल्लाहकार डा. एन्थोनी फौसीले त्यहाँको संसद् भवन (क्यापिटल हिल) मा सिनेट समितिसँग डेल्टाभन्दा घातक भेरिएन्ट देखापर्न सक्ने बताएका हुन्।
डा. फौसीका अनुासर अमेरिकामा अहिले भाइरस जसरी फैलिरहेको छ, यसरी नै जाडो यामसम्म फैलिरह्यो भने अझ खतरनाक र घातक रूप लिन सक्छ।
चेतावनी दिँदै उनले भनेका छन्, ‘आउनेवाला भेरिएन्टले सबै किसिमिका खोपलाई समेत धोका दिन सक्छ। समयमै सबैलाई खोप लगाएनौं भने हामी महामारीको अर्काे भयावह रूप देख्न तयार रहनुपर्छ।’
डा. फौसीका अनुसार भाइरसले नयाँ नयाँ रूप लिनाको कारण खोप पर्याप्त हुन नसक्नु हो। खोप कम भएपछि भाइरसले म्युटेसन हुने मौका पाउँछ र जाडो यामसम्ममा त्यसले भयानक रूप लिन सक्छ।



