३० बैसाख, काठमाडौँ ।
केही दिन अघि कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भयो । संस्कार अनुसार अन्त्येष्टि गरियो । मृतकदाइको अन्त्येष्टि भाइले गरे । त्यसपछि भाइ पनि संक्रमित भए । दाइको अन्त्येष्टि गर्ने भाइको पनि मृत्यु भयो ।
उनको (भाइको) छोराले स्याहारसुसार गरे । त्यो बेला उनी पनि संक्रमित भए । संक्रमित छोरालाई उपचारको लागि कोरोना विशेष अस्पताल बेलझुन्डी लगियो । त्यहाँ अक्सिजन सकिएपछि उनको पनि मृत्यु भयो ।
एकै परिवारका तीनजनाले एकपछि अर्को गर्दै कोरोना संक्रमणका कारण ज्यान गुमाए ।
‘बुवाको मृत्यु भएपछि संक्रमित छोरा बेहोस भएका थिए । त्यसपछि उनमा अक्सिजन कम भयो । उपचारको लागि बेल्झुण्डी लगियो’ गढवा–४ का वडा अध्यक्ष गुलाम मोहम्मदले भने, ‘अक्सिजन नपाएर उसको पनि मृत्यु भयो ।’ अहिले वडा नम्बर ४ को यो टोल सिल गर्ने तयारी गरिएको छ । ‘गाउँ पूरै स्यानीटाइज गर्छौँ’ उनले भने ।
कोभिडका बिरामीको अन्त्येष्टिमा कुनै पनि लापरबाही हुँदा संक्रमण फैलिएर ज्यानैसम्म जाने घटना आएको पूर्व संविधानसभा सदस्य योगेन्द्र चौधरीले बताएका छन् । ‘
मृत्यु संस्कार आफ्नो परम्परा अनुसार गर्ने त हो । तर, संक्रमण पुष्टि भएपछि राज्यले यसको दायित्व लिनु पर्छ कि पर्दैन ? लापरबाही त गर्न भएन’ चौधरीले भने, ‘संक्रमणको गति तीव्र छ । यस्तो हेलचक्र्याईँले थप जोखिम निमत्याउन सक्छ । संक्रमितको मृत्यु भयो भने प्रोटोकल अनुसार अन्त्येष्टि गरिनुपर्छ ।’
गढवा गाउँपालिका–४ को यो घटनालाई संवेदनशील रुपमा लिन लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले आग्रह गरेका छन् । ‘कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा लापरवाही नहोस्’ उनले भने, ‘हामी सबैले पनि सतर्कता अपनाउन पर्छ ।’



